गजल के हो? र कसरी लेख्ने?

                गजल के हो? र कसरी लेख्ने?

  गजल को उत्पत्ती


अरबी भाषाकाे स्तृलिङी शब्द गजल हो। प्रेमिकसङको सम्बाद वा भलाकुसारी नै अरबीमा यसको अर्थ हुन्छ। यसकारण गजलमा प्रणय वा प्रेम का कुराहरु कुनै न कुनै रुपमा उठान गरिन्छन। यसर्थ के बुझ्न सकिन्छ भने गजलमा सब्दगत सरलता हर्दिकता समर्पण त्याग जस्ता सारा कुराहरु हुनु आवस्यक छ।
अरबीमा गजला भनेको हरिण को बच्चा हो। त्यही गजला सिकारी बाट घाइते भएपछी जुन संवेदनशिल चीत्कार निस्कन्छ त्यसको ध्वनी र गजलले प्रस्तुत गर्ने संवेदनशिलता उस्तै भएकोले यसैबाट गजला हुँदै गजल भएको मानिन्छ।
अरबी मै अर्को भनाइ पनि पाइन्छ। अरबी भुमिका एक जना सायर जसले आफ्नो सारा जिबनलाइ मदिरा प्रेम र बिलासिततामा समर्पित गरेका थिए तिनै सायरको नाम गजल थियो। उनको मृत्युपछी उनै सायर को सम्झनामा अरबी भुमिमा गजल भन्ने नाम राखिएको हो।  
नेपाली गजलकारको अनुसार गजल = ग +ज+ अल  हो। अरबी भाषामा ग को अर्थ वाणि ज काे अर्थ नारी र अल को अर्थ बोलचाल हो। त्यैसैले गजलको अर्थ नारी सगको बोलचाल वा सम्बाद भन्ने बुझिन्छ।
सबै परिभाषा लाई केलाएर हेर्दा गजलको उत्पती अरबी भुमिबाट भएको बुझ्न सकिन्छ।
गजलको परिभाषा 

गजल काब्यको एउटा बिधा भइकन पनि सैद्धान्तिक रुपमा संरचनामा आधारित हुन्छ। यसको भाव र बिम्बका आधारमा कबिता जस्तो पनि हुन्छ र लयको आधारमा गायन योग्य पनि हुन्छ । गजल आफैमा न गित हो न कबिता नै। गजलका बारेमा विभिन्न शब्दकोश हरुले यसरी परिभाषित गरेका छन।
बृहत नेपाली शब्दकोष :- प्रेमका बिषयमा आधारित भएर श्रृङ्गार रसका कबिता लेखिने एक प्रकारको फारसी छन्द ।
प्रयोगात्मक नेपाली शब्दकोश:- एक प्रकारको कविता जसमा प्रेमलाइ आधार बनाइन्छ।
समग्रमा उपर्युक्त परिभाषाबाट  गजलमा हार्दिकता कोमलता अभिब्यक्ती कौशल र गेयात्मकता जस्ता कुराहॠ भने समान रहेको पाउन सकिन्छ। यसमा पनि देबि नेपालले भने बाह्य संरचनाका आधारमा ब्युत्पती सन्दर्भलाइ जोडी यसमा हुनुपर्ने तत्वका आधारमा गजललाइ यसरी परिभाषित गरेका छन।

ग- गेयात्मकता गम्भीरता वा गतिशीलता
ज- जिबन्तता जनपृय वा जादुपुर्ण
ल- लयात्मकता लाक्षणिकता वा ललितता

यसलाइ आधार मानी गजलालाइ परिभाषित गर्दा गजल भनेको एउटा गेय शैलीको लाक्षणिक अभिब्यक्ती दिने जिवन्त रचना हो। समग्रमा सबैसब्दको एउटा सुन्दर तलाउ या पोखरी गजल हो भनेर भन्न सकिन्छ। जहाँ काफिया र रदिफको लयबद्द जलमा भावका तरङहरु तरङित भैरहेका हुन्छन। तर त्यसको गहिराइ भने अनन्त हुन्छ।
जस्तै:
हुन त तिम्रो मेरो जात फरक हुन सक्छ
धनी छौ रे म गरिब औकात फरक हुन सक्छ
उमेर अनि बैँस सङै कुरा पनि तेस्तै गर्ने
म बृद्ध जवान तिमी मात फरक हुन सक्छ
उसले छुदा मदहोस भयौ मैले छुदा काडा 
छुवाइ सङै स्पर्समा हात फरक हुन सक्छ
फुल आखिर फुल नै हो जस्ले सजाएनी
तर फुलको बोट अनि पात फरक हुन सक्छ
मैले पनि बाचेकै छु चौबिस ब्यन्जन नखाएनी
चामल अनि मकैको भात फरक हुन सक्छ
हो भनेर धोका दिने मौका मिले भागी हाल्ने
बुझौ साथी हात्तिको झै दात फरक हुन सक्छ
माया गर्ने मान्छेलाइ माफ गर्न सकिन्छ भो
नजिकको र टाढाकाे घात फरक हुन सक्छ
ठीक्क पार्न जान्या कति हासी पनि दिने
बैगुनी र गुनि बिचको बात फरक हुन सक्छ


‘गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ।
गजल शव्दको अर्थ र ईतिहासकोबारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भएपनी गजलमा हुनुपर्ने मुलभूत तत्वहरुमा भने त्यती धेरै मतभिन्नता पाइन्न।
यहाँ हाम्रो पाठकहरु लगायत गजल सृजनामा पाइला टेक्दै गर्नु भएका नव आगन्तुक पाठकहरुको लागि उपयुक्त हुने हेतुले गजलका तत्वहरु बारे केही चर्चा गर्ने जमर्को गरेको छु।

गजलका तत्वहरु:
१. शेर
२. काफिया
३. रदिफ
४. मतला
५. मकता
६. तखल्लुस
७. वहर

१. शेर
दुई दुई पङ्क्ती मिलाएर लयात्मक तरिकाले गजल लेख्ने गरिन्छ र त्यहि दुई पङ्क्तीलाईनै गजलको शेर भन्ने गरिन्छ।
शेरको पहिलो पङ्क्तीलाई मिसरा-ए-उला र दोश्रो पङ्क्तीलाई मिसरा-ए-सानी भनिन्छ।
सामान्यतया पूर्ण गजलमा ५ वटा शेर हुने गर्दछन् तर यसको कुनै कडी-कडाऊ नियम नभएको हुनाले गजलगोले कम्तिमा ३ वटा शेरदेखि जतिपनि शेर लेख्न सक्दछ तर एकदम कम शेर र एकदम अधिक शेरलाईपनि राम्रो मनिन्दैन तसर्थ ५ वटा शेर भएको गजललाई आदर्श गजल मान्ने गरिन्छ ।

२. काफिया
समस्वरात्मक रुपमा रदिफ भन्दा ठिक अगाडि वारम्वार दोहोरिएर आऊने शव्दनै काफिया हो । काफिया शव्दको अर्थ अरवी भाषामा पनि ‘वारम्वार आऊने’ नै हुन्छ र हामीले यो बुझ्नु आवश्यक छ कि गजल् विधा अरब,फारस,हिन्दुस्तान हुदै नेपालमा भित्रिएको बिधा हो।तसर्थ अरबी भाषामा ‘वारम्वार आऊने’ वा काफिया गजलको त्यो तत्व हो जुन तत्व बिना गजल अधुरो हुन्छ,गजल भन्ने बिधाको अलग्गै पहिचान हुदैन, अझ यसो भनौ काफियानै गजलको मुटु हो । गजल बिधा भनेर छुट्ट्याउने माध्यम हो ।

काफियालाई सामान्यतया ४ प्रकारले छुट्ट्याऊन सकिन्छ।
(क) पूर्ण काफिया
(ख) अंशिक वा शाव्दिक काफिया
(ग) एकाक्षरी काफिया
(घ) मिलित काफिया

(क) पूर्ण काफिया
पूर्ण काफिया भन्नाले सिङ्गो शव्दनै काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई पूर्ण काफिया भनिन्छ। जस्तै: खाम, नाम, याम, लाम, दाम गाउँ,जाउँ, आउँ, पाउँ,धाउँ,जाउँ, इत्यादी,
पूर्ण काफिया प्रयोग गरिएर लेखिएको गजलको एउटा उदाहरण हेरौं

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो

आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो

सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो

मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै अन्धकार थोरै मात्र घाम थियो


(ख) आंशिक/शब्दांश काफिया
कुनै शब्द भित्रको अंशमात्र काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई आंशिक वा शब्दांश काफिया भनिन्छ । जस्तै: प्रहार,आधार,बिचार, सरोकार, अवतार, इत्यादी ।
उपरोक्त शब्दहरुमा क्रमश: हार, धार, चार, कार, तार, ले काफियाको रुपमा काम गरेको छ भने प्रहारको “प्र” आधारको “आ” बिचारको “बि” सरोकारको “सरो” र अवतारको “अव” ले काफियाको काम गर्दैनन् । यहाँ पूर्ण शब्दको केहि
अंशले मात्र काफियाको काम गरेको देख्न सकिन्छ। तसर्थ यस्ता काफियालाई आंशिक वा शब्दांश काफिया भनिएको हो।
आंशिक वा शव्दांश काफियाको एउटा उदाहरण:

वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु
तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु

आसन छ तरवारको देखेको छु आफूलेनै
वाध्य भई खुकुरिको यो धारमा बसेको छु

पराईको घरमा छु आफन्त त टाढा भए
ठुलै सङ्कटमा छु म जङ्घारमा बसेको छु

शहरमा बसेको छु भन्ने सोच्दै थिए तर
थाहा भयो मान्छे किन्ने बजारमा बसेको छु

साहुनीको भट्टीजस्तो सानो ठाउमा हैन आज
महलभन्दा ठुलो यो कारागारमा बसेको छु


उपरोक्त गजलमा संसारको ‘सं’, जङ्घारको ‘जङ्’,वजारको’व’कारागारको ‘कारा’ले काफियाको काम गर्दैन तसर्थ यस्ता काफिया आंशिक वा शब्दांश काफिया
अन्तर्गत पर्दछन्।

(ग)एकाक्षरी काफिया
एकाक्षरी काफिया भन्नाले काफियाको रुपमा एउटा अक्षर मात्र आउने वा आंशिक शव्दको अन्तमा काफियाको रुपमा आउने एउटा अक्षरलाई एकाक्षरी काफिया भनिन्छ। सामान्यतया गजलमा एकाक्षरी काफिया प्रयोग गर्नु राम्रो मानिन्दैन तर पनि कतिपय गजलकारले प्रयोगको रुपमा वा विचलनको रुपमा एकाक्षरी काफिया प्रयोग गरेको पाइन्छ।
एकाक्षरी काफिया प्रयोग गरिएको गजलको पनि एउटा उदाहरण हेरी हालौं ।

व्यथै व्यथा छ मनभरी खुसी खोजूँ कतातिर
साउन भदौ छ गहभरी नदी खोजूँ कतातिर

आरु फुल्यो वगैंचामा,पीडा फुल्यो मुटुभरि
चरो परेछ जालमा चरी खोजूँ कतातिर

मुटु चिरी बनाउँ कि रातो रगतको मसी
मेरो कथा लेखूँ कहाँ,मसी खोजूँ कतातिर

आगोपनि छ छातीमा,हुरी पनि छ छातीमा
चट्टानझैं अडिग जिन्दगी खोजूँ कतातिर

यो भीडमा हरायो कि,त्यो पीरमा हरायो कि
त्यो मेघ जस्तै गर्जने रवि खोजूँ कतातिर


माथिको उदहरणमा ‘सी’,'दी’,'री’,'गी’,'पी’ आदि एकाक्षरी काफिया हुन् ।

(घ) मिलित काफिया
पूर्ण काफिया वा आंशिक काफियासंग मेल खाने गरी समस्वरात्मक रुपमा दुई वटा शव्द आएको छन् भने त्यस्तो काफियालाई मिलित काफिया भन्ने गरिन्छ।
जस्तै: वनी,दन्दनी,फन्फनी,हुन्छ नी,आदि
मिलित काफियाको पनि एउटा उदाहरण तल हेरौं


तिमिलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि
वचन वाणले नहिर्काउ यति सारो कठोर वनी

जव अलिकति शीतल अनुभूति गर्न थाल्छु
तिमी दावानल दन्किदिन्छौ म भित्र दन्दनी

मात्र भए पनि खुला राख दिल साथी
दयामाया भन्ने कुरा मान्छे भित्रै त हुन्छ नी

आऊ यात्रा गर्न सिक मानवीय धरातलमा
के पाउँछौ कसैलाई फसाउने खाडल खनी

उहि नाग,उनि सर्प,फरक मात्र सोचाइमा

कसैका हो बुध तिमी,मेरो लागि भयौ शनि

माथि माथि खुट्टा देख्छु तल तिर टेक्नै छाड्यौ
इमानको सौदा गरी बन्दै छौ कि महाधनी


माथिको गजलमा काफिया बनेर आएका ‘पनि’,'वबी’,'दन्दनी’,'हुन्छ नी’, ‘शनि’,'खनी’ र ‘महाधनी’ मिलित काफियाको राम्रो उदाहरण मान्न सकिन्छ।
यसरी गजल विधाको तत्वहरु अन्तर्गत पर्ने काफियाको बिभिन्न स्वरुपहरुवारे चर्चा पछी अव रदिफ को पनि केही चर्चा तल गरिएको छ ।

३. रदिफ
गजल निर्माण प्रकियामा गजलको श्रुतिमधुरता,सौन्दर्य र एउटा छुट्टैपना वा पहिचानको निम्ति काफियापछि निरन्तर दोहोरिएर आउने पद वा पदावलीलाई रदिफ भनिन्छ। गजललाई साँगीतिक बनाउनु वा अलग्गै विधा भनेर छुट्ट्याउने कार्यको लागि रदिफको महत्व पनि कम आँक्न मिल्दैन। अझ कुनै कुनै गजल विद्वानहरुले काफिया भन्दा पनि रदिफलाई बढी महत्व दिएर लेखेको पाइन्छ,त्यसैगरी हामीले पढ्ने,लेख्ने,सुन्ने वा गाइने गजलहरुमध्ये अधिकांश गजलहरुमा रदिफको प्रयोगले पनि रदिफको महत्व बुझ्न सकिन्छ। यति हुँदा हुदै पनि रदिफ बिनाका गजल पनि पर्याप्त मात्रामा भेटिन्छन्।
गजलविधामा रदिफयुक्त गजललाई मुरद्दफ गजल र बिना रदिफका गजललाई गैरमुरद्दफ गजल भन्ने गरिन्छ।

त्यसैगरी शव्दसंरचनाको आधारमा रदिफलाई तीन तरिकाले विभाजन गर्न सकिन्छ।
(क) पदमूलक रदिफ
(ख) पदावलीमूलक रदिफ
(ग) वाक्यात्मक रदिफ

(क)पदमूलक रदिफ
रदिफको रुपमा एउटामात्र शव्द आएमा त्यो पदमूलक रदिफ हुन्छ।
जस्तै:

सिक्री वने जस्तै गाडीहरुको लाम छ
सायद जुलुस आउँदैछ सडकै जाम छ

हतारोमा छु म,मैले पुग्नु छ टाढा
कसलाई सुनाऊँ कि मेरो जरुरी काम छ

विभाजनको रेखा अझै गाढानै देख्छु
रहीम छ कसैको अनि कसैको राम छ

मानूँ त कसरि मानूँ,नमानूँ कसरि
यहाँ इज्जत भन्दा धेरै महँगो दाम छ

इमान साँचेर नै के भो,हो भने यस्तै
वेइमानहरुको सूचीमा मेरो नै नाम छ


उपरोक्त गजलमा रदिफको रुपमा केवल “छ” शव्दमात्र अर्थात एउटा शव्द मात्र आएको छ तसर्थ यस्तो गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदमूलक रदिफ मा राख्न सकिन्छ।

(ख)पदावलीमूलक रदिफ
गजलमा यदि दुई वा दुई भन्दा बढी शव्द रदिफको रुपमा आएको छ भने त्यस्तो रदिफलाई पदावलीमूलक रदिफ भन्ने गरिन्छ।
उदाहरणको लागि |
जस्तै:
भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ
फुल्न नपाई मनको फूल झरे जस्तो छ

वालुवाझैं सुख्खा थियो मनको मझेरी
कालो मैलो वादल वर्षा टरे जस्तो छ

दन्किएको वैंसको आगो सल्काऊ कसरी
उमेरको यो इच्छा-शक्ति मरे जस्तो छ

नदेखिईनै मनको घाउ दुख्छ जसरी
भन्न हुन्न प्रेमको जालमा परे जस्तो छ

साँच्चै तिम्रा आँखा सागर मोती तिम्रा दन्त
बाडुलीमा परें मेरै कुरा गरे जस्तो छ


यो गजलमा प्रस्तुत रदिफ “जस्तो छ” दुई शव्द मिलेर बनेको छ,यस अर्थमा यस गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदावलीमूलक रदिफ भित्र रहेको बुझ्न सकिन्छ।

(ग)वाक्यात्मक रदिफ
गजलमा रदिफको रुपमा पुरै वाक्यनै आएको छ भने त्यस्तो रदिफलाई वाक्यात्मक रदिफ भनेर चिनिन्छ।
वाक्यात्मक रदिफको उदाहरणको लागि |
जस्तै:
निम्तो थियो आउनु भएन,हजुरको ढोकासम्म आएँ
यौटै पत्र पाउनु भएन, हजुरको ढोकासम्म आएँ

मुखमा राम राम,बगलीमा छुरा भन्छन्
कैले मनमा छाउनु भएन,हजुरको ढोका सम्म आएँ

यता आयो यतै ठिक्क,उता गयो उतै ठिक्क
चोखो माया लाउनु भएन,हजुरको ढोका सम्म आएँ

आफैं बोक्सी आफैं धामी,कस्तो चाला हो यो
कतै पनि धाउनु भएन,हजुरको ढोका सम्म आएँ

काग कराउदै गर्छ,पिना सुक्दै गर्छ
जीवनको गीत गाउनु भएन,हजुरको ढोका सम्म आएँ


४. मतला
गजलको प्रत्येक दुई पङ्क्तिलाई शेर भनिन्छ,शेरको पहिलो पङ्क्तिलाई मिसरा-ए-उला र दोश्रो पङ्क्ति लाई मिसरा ए-सानी भन्ने गरिन्छ तर गजलको प्रारम्भको शेरलाई भने मतला भनिन्छ अर्थात गजलको सुरुवाती शेरलाई मतला भनेर चिनिन्छ। मतलाको दुवै मिसरामा काफिया हुनु अति आवश्यक हुन्छ,अन्यथा त्यो मतला नभएर शेर मात्रा बन्न जान्छ तसर्थ कम्तिमा दुवै मिसरामा काफिया हुनु भने जरुरीनै हुन्छ । यदि गजल मुरद्दफ छ भने काफिया संगै रदिफ पनि आउने गर्दछ र गजल गैरमुरद्दफ छ भने काफिया मात्रै भए पनि मतला भने बन्न सक्दछ।
कुनै कुनै गजलकारले एउटा मात्र नभई दुई दुई वटा मतला सिर्जना गर्दछन्,यसरी दुई दुई वटा मतला आएमा पहिलो मतलालाई मतला-ए-उला र दोश्रो मतलालाई मतला-ए-सानी वा हुस्ने-मतला भन्ने गरिन्छ।
मतलाका केहि उदाहरणहरु

“तिमीलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि
वचनवाणले नहिर्काउ यति सारो कठोर वनी”
“धनमाया पहेंला ती सबै सुन होइनन्
मनमाया उजेला ती सबै जून होइनन्”


५. मकता
गजलको अन्तिम शेर वा टुङ्ग्याउनीलाई मकता भनिन्छ।

कुनै कुनै विद्वानहरुले तखल्लुसयुक्त(उपनाम)अन्तिम शेरलाई मात्र,मकता भनिने अवधारणा राखेका भए पनि संरचनाको आधारमा र गजलको अन्तिम शेर गजलगोले आफ्नो सम्पूर्ण वयान वा भनाई टुङ्ग्याएको अर्थमा सिर्जना गर्ने भएकोले तखल्लुसयुक्त अन्तिम शेर मात्र होइन,तखल्लुस बिनाको अन्तिम शेरलाई पनि मकतानै भनिन्छ।                                                                                                                                                                                                                                                                          गजल प्रेमी नवीन योगि

Comments

Popular posts from this blog